हिलोमा रमाउँदै खेती गर्दैछन् ‘स्टार’ गायक अमृत गुरुङ

   
   79   पटक पढिएको

मध्य दिनमा अमृतले फोन उठाए, हेल्लो भन्दा उनको सास बढिरहेको थियो। उनी स्वाँस्वाँ गर्दै थिए।

जंगलबाट घर फर्किँदै रहेछन्। पृष्ठभूमिमा चराचुरुङ्गीको चिरबिर सुनिन्थ्यो। उनको गाउँ पुम्दिभुम्दी खेतबाट झण्डै ४ किलोमिटर माथि थुम्कामा पर्छ।

यिनी ती अमृत हुन्, जो ‘नेपथ्य’ को जोसिलो कन्सर्ट भइरहने मञ्चको बिचमा उभ्भिएर माइकबाट लेग्रो तान्दै भन्छन्, ‘के छ हो…. ई !’

संगीतलाई कर्म बनाएर परिचय खोज्दै उनी २७ वर्ष अगाडि यो क्षेत्रमा आएका थिए। पोखराबाट तीनजनाको समूह बनी काठमाडौँ छिरेको अमृतको ब्यान्डको पहिलो एल्बम ‘नेपथ्य’ १९९३ को अप्रिल १ मा सार्वजनिक भयो। यो व्याण्डले बनाएको गीतले संगीतप्रेमीको मनमा बिछट्टै फरक स्वादको बिउ रोपेको थियो।

अहिले हुर्किरहेको युवा पुस्ता पनि ‘छेक्यो, छेक्यो देउराली डाँडा’, ‘हिमाल चुचुरो’, ‘रेशम’ जस्ता गीत सुनेर हुर्किए। अहिलेका युवाको मनमा पनि ‘नेपथ्य’ जमेर बसेको छ। यसको प्रमाण ‘नेपथ्य’ को कन्सर्टमा छर्लङ्ग देखिन्छ। संगीतको धुन, ताल अनि शब्दले थाहा नपाई तरंगित बनाउँदै खुट्टा बजार्न मन लगाउँछ। नेपथ्यको गीत जसको कानमा बजेको हुन्छ, मनसँग पुगेको हुन्छ भन्दा अत्युक्ति नहोला । मुटु छुने गीत बनाउने टोलीका नाइके ‘अमृत’ प्रस्तुतिमा पनि ‘अमृत’ जसरी पोख्खिन्छन्। एकदमै बिन्दास, पूर्ण रुपमा समर्पित।

पछिल्लो केही वर्षदेखि अमृत अनि उनको ब्यान्ड  विश्वका कुना कुनामा गीतको मिठो रस पोख्न पुगेको छ। अमेरिकाको टेक्सासदेखि स्वयम्भूको चौरसम्म नेपाली गीत अनि, नेपाली मौलिकतालाई घन्काउने अमृत अहिले आफ्नो गाउँ पुम्दिभुम्दीको पाखामा रमाइरहेका छन्। नेपथ्यका स्टार अहिले ‘गोठाले’ भएर बसिरहेका छन्।

त्यो पनि ‘बिन्दास’ गोठाले जो तन–मन लगाएर दत्तचित्त भएर गाउँले जीवनमा मस्त छ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै चैत ११ गतेदेखि नेपालमा लकडाउन घोषणा गर्‍यो। अमृत यही बेला तनहुँ पुगे, आफ्नो जन्मभूमि। कर्मले काठमाडौँ अड्याएको भए पनि मन उनको उतै थियो। आंशिक रुपमा आफ्नो थलो पुग्ने अमृतलाई लकडाउनले पूर्णकालीन गाउँले बनाएको छ। यो समय उनले कति मजाका साथ बिताइरहेका छन् भन्ने कुरा ट्विटरमा साझा भएका पोस्टले छर्लङ्ग पार्छ।

धेरै पोस्टहरुमध्ये उनले जुन १४ मा लेखेको पोस्ट यस्तो छ, ‘धेरैले मेरो गाउँले जीवनको तारिफ गरे। धन्यबाद। मनोरन्जन उद्योग निर्दयी हुन्छ। मैले यसका सबै पक्ष भोगेको छु। सफल–बिफल, माया–घृणा, आफू चल्न ‘प्रतिद्वन्द्वी’ ले गर्ने निकृष्ट व्यवहार सबै अत्यासलाग्दो हुन्छ। यसबाट बचाने उपाय भनेको–आफ्नो जरासँग जोडिएर बस्ने हो। नमात्तिने, नआत्तिने, बाँचिरहने।’

पोस्टमा भनिएको जस्तो जीवन कस्तो होला? त्यो उनैले बाँचेका होलान्, देख्नेले त उनले मञ्चमा छर्ने रौनक र गीत संगीतका माध्यमबाट बाँड्ने संगीत रसको स्वादमात्र चाख्छन्। मनोरञ्जन क्षेत्रको ‘निकृष्ट व्यवहार जो अत्यासलाग्दो हुन्छ’, त्यसबाट जोगिनलाई उनले सुझाएको उपाय छ, ‘आफ्नो जरासँग जोडिएर बस्ने। नमात्तिने, नआत्तिने र बाँचिरहने।’

त्यही युक्तिलाई अवलम्बन गर्दै अमृत अहिले आफ्नो जरासँग कसिलो गरी जोडिएका छन्, आफ्नो जन्मभूमिमा जरा गाडेका छन्। त्यहीँ परिश्रम गर्दै छन्, पसिना बगाउँदै छन्। सबैको एउटै स्वरुप उनी रमाउँदै छन्।

अमृत गुरुङ।

वरिपरि वन अनि बीचमा खेत भएको पोखराको यो ठाउँलाई मूलपानी भन्छन्, जहाँ अमृत माने रोपेर मुरी फलाउने प्रयत्नमा लागिरहेका छन्। उनको चश्मामा लागेको हिलोको छिट्टाले पनि मेहनत देखाइरहेको छ। त्यो उनको पुर्खौली खेत हो।

उनको खेतमा धान रोपिएको छ, मकै भर्खरै थन्काएका छन्। जसरी गितार, किबोर्ड, ड्रमको मिश्रित आवाजले उनको मस्तिष्कलाई झन्काउँछ र मिठो स्वर निकाल्छन्, त्यसरी नै रुख–बिरुवा, चराचुरुङ्गीको स्वरले उनलाई शान्त बनाउँछ। माटोसँग एक किसिमको मोह छ, यसको सुगन्ध अमृतलाई धेरै मन पर्छ।

‘जुन खेतको अन्नपानी खायौँ, हाम्रा पुर्खाले हामीलाई हुर्काउनु भयो, यो जमिनबाट उब्जिएको अन्नपात बेचेको पैसाले मेरो स्कूलको फी तिरिएको छ। त्यसैले यो ठाउँसँग मेरो छुट्टै किसिमको आत्मीयता छ। आफ्नो काम आफैँले गर्ने हो। अरुले आएर गर्दिँदैनन् क्यारे, अरुले त आएर यस्तो भएछ मात्रै भन्दिने न हुन्,’ अमृत भन्छन्, ‘भ्याइन्जेल आफैँ आउँछु, आफू उपस्थित हुने समर्पित हुने।’

जीवनक्रम अगाडि बढ्दै जाँदा जीवनशैली फेरिनु, पहिलेका केही कर्म फेरिनु, केही कुरा पछाडि छुट्दै जानु सामान्य हुन्। तर अमृतले आफू हुर्कँदाको जीवनशैलीलाई छोडेका छैनन्। त्यसैले उनी धान रोप्न जान्छन्, हिलाम्मे हुन्छन्, लठ्ठीले बाँदर धपाउँछन्।

अमृतलाई नजिकबाट चिन्नेहरुका लागि यो कुरा नौलो नहोला। आफ्नो ठाउँसँगको सामिप्यतालाई केही हदसम्म बुझ्लान्। तर स्टेजमा ‘धमाका’ गर्दै गरेका स्टारलाई देख्ने युवालाई उनी यसरी आफ्नो मौलिक जीनवसँग रमाएको देख्दा के लाग्ला? कति जिज्ञासा आउलान्?

स्टेजमा हात हल्लाउँदै सबैको ध्यान खिच्ने अमृतलाई पातमा भर्खरै ब्याएको गाईको बिगौती बटारेर निगालोमा घुसारेको, जङ्ग्रङ्ग कपाल छोडेर टुक्रुक्क पिँढीमा बसी वनबाट ल्याएको निगुरोको तरकारीसँग रोटी खाँदै गरेको देख्दा खसखस नलाग्ला र!

‘कलाकारिता जीवनमा मन परेर गरेको चिज भयो, व्यवसायिकता भन्दा पनि आत्मरञ्जन र मनोरञ्जनका लागि अंगालेको पेसा भयो। यसलाई भाग्यले पाएको भनौँ, या मेहनतले। शायद कलाकार बन्नु मेरो नियति थियो,’ अमृत भन्छन्, ‘यो खेतीपाती गर्ने, गाउँमा आएर बस्ने, पानीको कलकलसँग रम्ने, बादल हेरेर रमाउने भनेको आफूलाई मन परेको कुरा हो।’

उनी आफूलाई ‘भुईँमान्छे’ भन्छन्, जो ससाना कुरामा रमाउने कोशिस गर्छ। ‘जीवनमा धेरै उतारचढाव देखेको छु, त्यसैले हामीले जहिले पनि आफ्नो धरातल छोड्नु हुँदैन,’ अमृत भन्छन्, ‘मान्छे एकपल्ट जन्मेपछि मर्नुपर्छ, यो अन्तिम सत्य हो। बाँच्ने क्रममा जीवनमा यावत कुराहरु हुन्छन्। भ्रमका कुरा धेरै छन्। त्यस्ता कुरा बुझेर सकेसम्म आफ्नो तरिकाले आफू खुशी हुने। सकिन्छ भने अरुलाई पनि खुशी पार्ने।’

उनको कुराको निचोड थियो,

‘आफू खुशी हुने।’

उनको भाषामा भन्दा जो मान्छे आफू एक्लो खुशी हुँदैन भने त्यो जीवनको अर्थ छैन, साथीभाइ वा परिवारसँग त ऊ जहिले भेट्दा पनि खुशी हुन्छ। खुशी त आफूसँग हुनुपर्छ, किनभने संसारबाट एक्लै जाने हो।

भुईँमान्छेका दार्शनिक विचार पोख्खिए,

संसारमा कुनै चिज स्थायी छैन।

उनको खेतमा धान रोपिएको छ, मकै भर्खरै थन्काएका छन्। जसरी गितार, किबोर्ड, ड्रमको मिश्रित आवाजले उनको मस्तिष्कलाई झन्काउँछ र मिठो स्वर निकाल्छन्, त्यसरी नै रुख–बिरुवा, चराचुरुङ्गीको स्वरले उनलाई शान्त बनाउँछ। माटोसँग एक किसिमको मोह छ, यसको सुगन्ध अमृतलाई धेरै मन पर्छ।

संगीत अनि साहित्यमा उनको जति झुकाव छ, त्यसप्रति पनि त्यति नै धेरै माया, श्रद्धा छ। काम गर्दै जाँदा अमृतले धेरै सिकेका छन्, यही क्रममा उनले अनुभूत गरेको महत्वपूर्ण कुरा ‘आफ्नो धरातल छोड्न हुँदैन, माटो बिर्सनु हुँदैन।’ ग्लामरस दुनियामा सबै चीज छ, खुशी सुख, दुःख। एक किसिमको धुनबाट दर्शकसँगको आत्मीयता साटासाट हुन्छ, त्यो अमृतलाई मात्रै मञ्चमा हुन्छ, जुन २ घण्टामा सकिन्छ। यसका लागि अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड होस् अथवा मनाङ मुस्ताङ, ठाउँले फरक पार्दैन। अर्को नयाँ चिज सिर्जना हुनको लागि फेरि ध्यान गर्नुपर्‍यो, तपस्या गर्नुपर्‍यो। मात्र त्यो दुई घण्टाको लागि।

तर कृषि, माटोसँग खेल्ने, प्रकृतिसँग खुशी हुने भनेको बाँच्ने क्रममा पाइने कुराहरु हुन्। के थाहा भोलि यो सबै नपाइन सक्छ। ‘हामीलाई हिजो पो थाहा छ, आज हामी बाँचिरहेका छौँ, भोलि त कसैलाई पनि थाहा छैन नि,’ अमृत भन्छन्, ‘प्रविधिको विकास भयो, प्रविधि नहुँदा, मञ्च नपाउँदा पनि मानिस गीत गाउन सक्छ। कृषि भनेको आफैँले रोपेर, आफैले उमारेर आत्मरञ्जन गर्ने कुरा हो। आफू खुशी हुने कुरा हो।’

अमृतले मकैको फल्ने समयलाई उदाहरण दिँदै भने, ‘फागुनमा रोपेको मकै अहिले (असार) खाने बेला भयो। यो चार महिनाको कुरा भयो, मान्छे चार सय वर्षको लागि सोच्छन्। किसानको लागि यो चार महिना विशेष छ, मकै छर्‍यो, अंकुराउँछ, टुसा पलाउँछन्, हरियो देखिन्छ, चराले खान्छन्, बाँकी रहेको बोटमा फल लाग्छन्, अनि जंगली जनावरबाट जोगाउनु पर्‍यो, प्रकोप आइलाग्छ। चार महिनामा धेरै उतारचढाव हुन्छन्, मैले बाँच्ने क्रमलाई यसरी नै लिएको छु। मञ्चमा र खेतमा देखिने अमृत त्यही हो, मात्र आफ्नो भूमिकाको फरक स्वरुपमा देखिएको छ।’

संगीत क्षेत्रलाई कर्मको रुपमा लैजानेहरु यहाँ छिरेपछि निस्केको भेटिँदैन। जसरी यो क्षेत्र व्यापक छ, यो क्षेत्रमा प्रवेश गरेकाहरु अन्य आयामहरुसँग जोडिएर बस्छन्। गायक गीत कम्पोजर हुन्छ, आफ्नै रेकर्डिङ स्टुडियो, अरु अरु। तर अमृतको संगीत कर्मको व्यवहार निश्चित छ, उनी आफ्नो  ब्यान्डका लागि सर्वस्व दिन्छन्, ब्यान्डका निश्चित उद्देश्य हुन्छन्, कार्यतालिकामा चल्छ, त्यसपछि सबैसँग टक्क छुट्टिएर कृषि कर्ममा होमिन्छन्। आफ्नै दुनियाँमा।

उनको जन्म लाहुरे परम्परा भएको गुरुङ परिवारमा भयो। तर उनलाई लाहुरे बन्न मन लागेन र भौतिक विकासलाई उनले मानवीय विकास मानेनन्। उद्योग खुल्नु, ठूला महल बन्नु आफ्नो ठाउँमा छन्, तर देश बन्नलाई आफू बन्नुपर्ने गुरुङको सोचाइ छ। ‘मलाई बाबाप्रति श्रद्धा छ, आफ्नो बाध्यता थियो होला तर जबसम्म देशमा भएका मान्छे बन्दैनन्। आफ्नो वरपरको भूगोल, वातावरण जबसम्म स्वच्छ सफा र सुन्दर बन्दैन, तबसम्म देश बन्छ जस्तो लाग्दैन। ठूला गाडी, मोटरबाटो बन्नु देश बन्नु होइन,’ अमृत भन्छन्, ‘देशमा श्रमजिवी मानिसहरु बाँच्न सक्नुपर्छ, बिहान कमाउन हिँडेको मानिस बेलुका परिवारसँग खुशीसाथ बस्न सक्नुपर्छ। आफ्नो मान्छेसँग बसेर खान पाउनु पर्छ।’

नेपालको कुरा गर्दा उनी अझै भावुक अनि आत्मीय सुनिन्छन्। यहाँको भौगोलिक विविधता अनि यहाँको बहुभाषिक अनि बहुसांस्कृतिक बनावट अमृतलाई गज्जब लाग्छ, उनी यसलाई मजबुत बनाउनु पर्ने ठान्छन्। भन्छन्, ‘यसको लागि हामी बन्नु पर्छ । हामी बन्यौँ भने मात्रै हाम्रा चिज बनाउन सक्छौँ।’

राजनीति, सामाजिक विषयले मनमै छुन्छ। अमृतको मनमा पनि गडेर बसेको छ, त्यसैले केही गर्न सक्छु भन्दै हिँड्छन्। देशका कुना कन्दरा हिँडेरै पुग्छन्, ठाउँठाउँमा विद्यालय बनाउँछन्। उनलाई लाग्छ, बालबालिका भविष्य हुन्। आफैँले आफैलाई भन्छन्, ‘शायद म यस्ता विषयमा अलि संवेदनशील भएँ, त्यसैले मैले मेरो भात खाने कुरा मात्र सोचिन होला।’

यो सबै कुरामा अमृतको परिवार के गर्छ त? जसरी अमृत आफ्नो खुशी ठूलो कुरा भनेर लागि रहेका छन्, उनकी छोरी अनि श्रीमतीले विचारमा सहमति राखिदिए। ‘बाबा कलाकार हो, श्रीमानको इच्छा यो हो, उनीसँग राम्रा नराम्रा गुणहरु दुवै छन् भन्ने बुझेका छन्’, अमृत भन्छन्, ‘म उनीहरुलाई ढाँट्दिनँ।’

संगीत कर्मबाट खाली हुने बित्तिकै गाउँ फर्किने अमृतलाई काठमाडौँ मन नपर्ने होइन, संघर्षका झण्डै ३० वर्षमा काठमाडौँलाई धेरै फेरिएको देखेका छन् उनले। भौतिक परिवर्तन देखेका छन् जुन कुराले मन चिसो बनाउँछ।

‘तपाईँ जुन ठाउँमा जन्मनुभयो, जुन संस्कार तपाइँले जिउनुभएको छ, तपाईँका अभिभावकहरुले तपाईँलाई केके हस्तान्तरण गरे? तपाईँले कस्तो जीवनयापन र संस्कार पाउनुभएको छ, र तपाईँ आगामी पुस्तालाई के दिँदै हुनुहुन्छ? यो कुरामा निर्भर गर्छ जीवनका सबै चिज। केही संस्कृति, सभ्यता छुट्दै गएका छन्। हुन त मान्छेले बनाएका सँस्कारलाई हामीले समय सापेक्ष बनाउँदै लैजानुपर्छ।’ प्रकृति पूजा गर्नुपर्छ भन्दै अमृत भन्छन्, ‘हाम्रो संस्कारले नयाँ मकै चढाउनुपर्छ भन्छ, हामीलाई थाहा छैन चढायो भने के हुन्छ? विज्ञानको तर्कले यसलाई भ्रम भन्छ, तर सबैभन्दा ठूलो भ्रम भनेको जीवन हो।’

उनी अगाडि भन्छन्, ‘त्यसैले गर्नुपर्छ, जे छ चल्नुपर्छ। अग्रज पुस्ताले गरेको कर्मलाई निरन्तरता दिनुपर्छ। मकै चढाउनुको वास्तविक तर्क अज्ञात भए पनि केटाकेटी खुशी हुन्छन्, प्रकृतिलाई धन्यवाद दिँदै श्रद्धा गर्दा आत्मसन्तुष्टि हुन्छ। किनकि प्रकृतिले जोगाइदिएर नै त्यो मकै धेरैले खान पाउँछन्। पूजा नगर्दा नि हुन्छ, तर त्यो संस्कारले अरुलाई नराम्रो गरेको छैन, मुहारमा मुस्कान ल्याएको छ भने त्यसलाई निरन्तरता किन नदिने?’

कुराकानीको बिट उनले यसरी मारे..

‘पुराणमा भनिएको छ, जसको संस्कार हराउँछ, त्यसको भाषा, भूमि हराउँछ रे। त्यसैले भाषा, संस्कार र रीतिरिवाजलाई परिमार्जन गर्दै लाने हो र हामीले नै यसलाई अस्तित्वमा राख्दै लाने हो, त्यसो हुँदा ज सम्म हाम्रो भाषा रहिरहन्छ, तबसम्म हामी रहिरहन्छौँ।’

साभार देशसञ्चार

साउन ४, २०७७ मा प्रकाशित

 

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।